काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज (चैत १५ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले चैत १० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ लाख ५० हजार कित्ता शेयर बिक्री खुला गरेको थियो। सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरको १० प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बराबरको हिस्सा विदेशमा कार्यरत नेपालीहरूका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ।
यस आईपीओमा न्यूनतम १० कित्टा र अधिकतम २० हजार कित्टासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP BB’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम स्तरको वित्तीय जोखिम रहेको संकेत गर्छ।
बझाङ जिल्लामा अवस्थित यस जलविद्युत आयोजनाको क्षमता १५.३३ मेगावाट रहेको छ। आयोजनाबाट २०७९ माघ २७ गतेदेखि नै व्यावसायिक रूपमा विद्युत उत्पादन भइरहेको कम्पनीले जनाएको छ। कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ रहेको यस आयोजनाको प्रतिमेगावाट लागत २८ करोड ३० लाख रुपैयाँ रहेको छ।
लगानी फिर्ता अवधिअन्तर्गत साधारण पेब्याक अवधि ९.२९ वर्ष र डिस्काउन्टेड पेब्याक अवधि १८.०१ वर्ष रहेको उल्लेख गरिएको छ।
उक्त आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।
त्यसैगरी, मेरो शेयर अनलाइन पोर्टल वा मोबाइल एप प्रयोग गरी विश्वको जुनसुकै स्थानबाट सहजै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आज अन्तिम दिन रहेकाले योग्य लगानीकर्ताहरूलाई समयमै आवेदन दिन आग्रह गरिएको छ।
