काठमाडौं । युनिलिभर नेपाल लिमिटेड ले ५ वर्षअघि घोषणा गरेको लाभांश अझै पनि धेरै शेयरधनीहरूले बुझ्न बाँकी रहेको पाइएको छ। कम्पनीले आफ्नो २७औँ वार्षिक साधारणसभाबाट पारित गरेको प्रतिफलको केही रकम हालसम्म पनि दाबी नभएको भन्दै सार्वजनिक सूचना जारी गरेको हो।
आर्थिक वर्ष २०७६/०७७ को मात्रै रु ६ लाख ९३ हजार ३३० बराबरको लाभांश रकम हालसम्म सम्बन्धित शेयरधनी वा उनीहरूका हकवालाले संकलन नगरेको कम्पनीले जनाएको छ। यो रकम लामो समयदेखि भुक्तानी हुन नसकी थन्किएको अवस्थामा रहेको बताइएको छ।
कम्पनीले बाँकी लाभांश बुझ्न चाहने लगानीकर्तालाई अबको ३० दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। त्यसका लागि शेयरधनीहरूले लक्ष्मी सनराइज क्यापिटल लिमिटेड मा रहेको शेयर रजिष्ट्रारको कार्यालयमा आफ्नो शेयर प्रमाणपत्र र परिचय खुल्ने आधिकारिक कागजातसहित उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
यदि तोकिएको समयसीमाभित्र पनि रकम दाबी नभएमा उक्त लाभांश रकम कानुनी व्यवस्था अनुसार ‘लगानीकर्ता संरक्षण कोष’ मा जम्मा गरिने कम्पनीले स्पष्ट पारेको छ। कम्पनीले सबै शेयरधनीलाई आफ्नो प्रतिफल सुरक्षित गर्न समयमै सम्पर्क गर्न आग्रह गरेको छ।
