धादिङकी पार्वती कार्किले एनसेल करोडपति उपहार योजना जित्न सफल भएकी छिन् । एनसेलले असार १ देखि ३२ गतेसम्म सञ्चालनमा ल्याएको एनसेलको ‘सधैं अन करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेपछि एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनलेलको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरे । बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताएकी छिन् ।
एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकहरुले साप्ताहिक पुरस्कार स्वरुप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम १२ हप्ताका लागि सञ्चालनमा ल्याएको यो योजना पाँचौ हप्ताको बीचमा नै साउन १ गतेबाट बन्द गरेको थियो ।
उपभोक्ताहरुको हितलाई ध्यानमा राखी सञ्चालन अवधिभित्रमा यस योजनामा सहभागिता जनाएका ग्राहकवर्गहरुलाई कम्पनीले प्रतिवद्धता जनाए बमोजिम विजेता घोषणा गरी पुरस्कृत गरेको हो । कार्कीसहित ३६ जनालाई नगद पुरस्कार हस्तान्तरण गरिसकिएको र बाँकी १५ जना एक लाख रुपैयाँ जित्ने ग्राहकहरुलाई पनि प्रमाणिकरणको प्रक्रिया पुर्याइ पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ ।