नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ। शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ।
डिभिजन सडक कार्यालय चितवनका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको छ।
झण्डै १०० मिटर माथिबाट झरेको पहिरोले सडक ढाकिँदा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध छ। निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन नसकिएको भएको हो । आज बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु भएको छ।
दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको छ।
पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको छ।
शुक्रबार दिउँसो पनि यहाँ पटक पटक पहिरो खसेको थियो। पहिरो सफा गरेर सवारी सञ्चालन गरिएको अवस्थामा शुक्रबार साँझ झन् ठूलो पहिरो खसेको हो।
