फिफा विश्वकप २०२६ अन्तर्गत समूह ’बी’ को दोस्रो खेलमा क्यानाडाले कतारमाथि ६–० को ऐतिहासिक र फराकिलो जित हात पारेको छ ।
आज शुक्रबार बिहान सम्पन्न खेलमा क्यानडाका स्ट्राइकर जोनाथन डेभिडले सानदार ह्याट्रिक गरेपछि कतार निरीह बनेको हो ।
जोनाथन डेभिडको यो ह्याट्रिक जारी विश्वकप २०२६ को दोस्रो ह्याट्रिक हो। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अल्जेरिया विरुद्धको खेलमा यस प्रतियोगिताकै पहिलो ह्याट्रिक प्रहार गरेका थिए ।
खेलको १६औँ मिनेटमा काइल लारिनको गोलबाट अग्रता लिएको क्यानडाले खेलभरि कतारलाई दबाबमा राख्यो । २९औं मिनेटमा जोनाथन डेभिडले टोलीका लागि दोस्रो गोल थपे खेलको ३३औँ मिनेटमा कतारका डिफेन्डर होमाम अहमदले रेड कार्ड खाँदै मैदान बाहिरिएपछि कतार १० खेलाडीमा सीमित भएको थियो ।
यसको फाइदा उठाउँदै पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गरे ।
दोस्रो हाफमा पनि क्यानडाको गोल वर्षा रोकिएन । ६४ औं मिनेटमा मिडफिल्डर नेथन सालिबाले गोल गर्दै अग्रता ४–० बनाए । ७५ औं मिनेटमा कतारका स्ट्राइकर मोहमद मनाइले आत्मघाती गोल गरेपछि क्यानडा ५-० ले अगाडि बढ्यो । खेलको अन्तिम समयमा जोनाथन डेभिडले आफ्नो ह्याट्रिक पूरा गर्दै क्यानाडालाई ६-० को विशाल जित दिलाए ।
यसअघि पहिलो खेलमा क्यानडाले बोस्नियासँग १(१ को बराबरी खेलेको थियो । यो जितसँगै क्यानडाको २ खेलबाट ४ अंक भएको छ र गोल अन्तरको आधारमा टोली बलियो स्थितिमा पुगेको छ । यही समूहमा स्विट्जरल्याण्डको पनि २ खेलबाट ४ अंक नै रहेको छ ।
पहिलो खेलमा स्विट्जरल्याण्डलाई १(१ को बराबरीमा रोकेको कतार भने यो ठूलो हारपछि १ अंकमै सीमित छ र उसको अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बनेको छ ।
